रास्वपाको पहिलो महाधिवेशन आजदेखि, नेतृत्व र विधानमा व्यापक छलफल हुने

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ।

पार्टीले महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजना हुने महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले गर्ने कार्यक्रम तय गरिएको छ। देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया सम्पन्न भइसकेको र व्यवस्थापनका सबै तयारी पूरा भएको रास्वपाले जनाएको छ।

महाधिवेशनअघि बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधान संशोधन गर्दै केन्द्रीय समितिलाई १२१ सदस्यबाट बढाएर १५१ सदस्यीय बनाउने प्रस्ताव पारित गरेको छ। संशोधित व्यवस्थाअनुसार पदाधिकारी तहमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गरिने भएको छ।

पार्टीले महाधिवेशनमार्फत संगठन सुदृढीकरण, भावी राजनीतिक कार्यदिशा तय तथा नयाँ नेतृत्व चयनलाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ।

महाधिवेशनमा विधान संशोधन, नीतिगत प्रस्ताव र समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने बताइएको छ।

रास्वपाका अनुसार महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधिको सहभागिता रहनेछ। पार्टीले हाल सदस्य संख्या पाँच लाख पुगेको दाबी गरेको छ।