बाजुरामा बस दुर्घटना, २४ जना घाइते

काठमाडौं: बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आज बिहान पवनदूत यातायातको सुपप्र ०२–००१ ख १३५५ नम्बरको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार बसमा ३५ जना सवार थिए।

दुर्घटनामा घाइते भएका २४ जनामध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको छ भने एक जनालाई थप उपचारका लागि अछामस्थित बयलपाटा अस्पताल लगिएको छ।

प्रहरीका अनुसार बसको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।