तीन दिनपछि ५,७०० मिटर उचाइमा भेटियो निम्सदाइको शव

काठमाडौं: नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को शव पाकिस्तानको ब्रड पिकमा फेला परेको छ।

पाकिस्तानको अल्पाइन क्लब (एसीपी) का अनुसार पुर्जाको शव ब्रड पिकको करिब ५ हजार ७ सय मिटर उचाइमा फेला परेको हो।

तीन दिनअघि हिमपहिरोमा परेर पुर्जासहितको आरोहण टोली बेपत्ता भएको थियो। आइतबार एसीपीले उद्धार टोली घटनास्थलमा पुगेको र पुर्जाको शवसँगै अन्य तीन शवसमेत फेला परेको जनाएको छ। ती शवको पहिचान भने अझै हुन बाँकी छ।

उद्धार टोलीले शवहरूलाई जापानी क्याम्पतर्फ ल्याउने तयारी गरिरहेको एसीपीले जनाएको छ। यसअघि शनिबार पुर्जाको अभियान व्यवस्थापन कम्पनी एलिट एक्सपेडले हिमपहिरोमा परी पुर्जासहित आरोहण टोलीका सबै सदस्यको मृत्यु भएको पुष्टि गरेको थियो।

शनिबार नै उद्धार टोलीले ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, नेपाली पर्वतारोही पुरबहादुर गुरुङ र ग्यालु शेर्पाको शव बरामद गरेको थियो। अमेरिकी पर्वतारोही सारा म्यालोरी गेसको अवशेषसमेत फेला परेको थियो।

एसीपीका महासचिव अयाज शिग्रीका अनुसार ब्रड पिकको कठिन भू–भाग, निरन्तर हिमपहिरोको जोखिम र प्रतिकूल मौसमका कारण उद्धार अभियान चुनौतीपूर्ण बनेको छ। मौसम खराब रहेकाले हेलिकप्टर परिचालन गर्न नसकिएको उनले बताएका छन्।

हाल नेपाल र पाकिस्तानका पर्वतारोही सम्मिलित आठ सदस्यीय स्थलगत उद्धार टोलीले अभियान अघि बढाइरहेको छ।

पुर्जाको आरोहण टोलीमा उनीसहित १० जना सदस्य थिए। टोलीमा ६ नेपालीसहित पाकिस्तान, ओमान, अमेरिका र चीनका एक–एक जना पर्वतारोही सहभागी थिए।
एसीपीले प्राप्त विवरण प्रारम्भिक प्रतिवेदनमा आधारित रहेको भन्दै आधिकारिक पुष्टि नआएसम्म अप्रमाणित सूचना नफैलाउन आग्रह गरेको छ।