सातबुँदे सहमतिले टुंगियो शव विवाद, आजै अन्त्येष्टि हुने

काठमाडौं: सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव शुक्रबार आफन्तले बुझेका छन्।

सरकार र पीडित पक्षबीच शुक्रबार बिहान सातबुँदे सहमति भएपछि विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम गरी दुवैको शव आफन्तलाई जिम्मा लगाइएको हो।

शव बुझेपछि आफन्तले अन्तिम संस्कारका लागि देवानगञ्ज–३ कप्तानगञ्जतर्फ लगेका छन्। शवयात्रासहित गाउँ पुर्‍याइएका दुवै युवाको शुक्रबार नै अन्त्येष्टि गरिने जनाइएको छ।

यसअघि जयप्रकाश मेहताको शव विराटनगरस्थित न्यूरो अस्पतालमा राखिएको थियो भने ओमप्रकाश मेहताको शव कोशी अस्पतालमा राखिएको थियो।

गत आइतबार राति देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका क्रममा अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। घटनास्थलमै ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने गम्भीर घाइते जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएको थियो।

घटनापछि पीडित पक्षले विभिन्न माग राख्दै शव बुझ्न अस्वीकार गर्दै आएको थियो। शुक्रबार सरकार र पीडित पक्षबीच सातबुँदे सहमति भएपछि शव बुझ्ने प्रक्रिया अघि बढाइएको हो।