काठमाडौं: प्रधानमन्त्री बालेन साहले सुनसरीको देवानगञ्ज, सिराहा लगायतका क्षेत्रमा भएका पछिल्ला घटनाको सन्दर्भमा सामाजिक सञ्जाल र अन्य सञ्चार माध्यमबाट साम्प्रदायिक विद्वेष तथा अफवाह फैलाउने गतिविधिमाथि कडा निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै अपुष्ट, भ्रामक र घृणा फैलाउने सामग्री प्रचार–प्रसार नगर्न सबैसँग आग्रह गरे। यस्ता गतिविधिले सामाजिक सद्भावमा असर पुर्याउने भएकाले संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए।
प्रधानमन्त्री साहले समुदायबीच द्वेष फैलाउने, भ्रम सिर्जना गर्ने र सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधि सरकारले सहन नसक्ने स्पष्ट पारे।
कानुनविपरीतका यस्ता कार्यमा संलग्न जो–कोहीमाथि कडा कारबाही गरिने उनको चेतावनी थियो।
उनले नागरिकलाई आधिकारिक निकायबाट जारी हुने सूचना र तथ्यमा मात्र विश्वास गर्न आग्रह गर्दै अपुष्ट समाचार, अफवाह र सामाजिक सञ्जालमा फैलाइने भ्रामक सामग्रीको पछि नलाग्न अनुरोध गरे।
प्रधानमन्त्रीले सुनसरी, सिराहा तथा अन्य प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न सुरक्षा संयन्त्र परिचालन गरिएको जानकारी दिँदै घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गरिने र सामाजिक सद्भाव कायम राख्न सरकार दृढ रहेको बताए।


















