काठमाडौं: प्रधानमन्त्री बालेन्द्र साहले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ)सहितका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री साहले आरोहीहरूको भौतिक यात्रा रोकिए पनि उनीहरूको साहस, समर्पण र योगदान सधैँ जीवित रहने बताएका छन् ।
‘आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो,’ उनले भनेका छन् ।
८ हजार ५१ मिटर अग्लो ब्रोड पिकमा भएको हिमपहिरोमा निर्मल पुर्जासहित आरोहीहरूको निधनले आफू स्तब्ध भएको प्रधानमन्त्री साहले बताएका छन् ।
‘हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ,’ उनले लेखेका छन् ।
प्रधानमन्त्री साहले दिवङ्गत सबै आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त र शुभेच्छुकप्रति समवेदना व्यक्त गरेका छन् ।

















