काठमाडौं: केही वर्षअघिसम्म नेपालमा डेङ्गुको नाम सुन्नासाथ स्वास्थ्य क्षेत्र मात्र होइन, सर्वसाधारणमा पनि त्रास फैलिन्थ्यो। मनसुन सुरु भएसँगै अस्पतालमा बिरामीको चाप बढ्ने, स्वास्थ्यकर्मीहरू थप दबाबमा पर्ने र मृत्युका समाचार सार्वजनिक हुने क्रम सामान्यजस्तै बनेको थियो। तर पछिल्ला वर्षका तथ्याङ्कले भने एउटा सकारात्मक संकेत दिएका छन्– डेङ्गु सङ्क्रमण र त्यसबाट हुने मृत्यु दर दुवै निरन्तर घटिरहेका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत किटजन्य रोग शाखाको तथ्याङ्कले यस वर्ष डेङ्गु सङ्क्रमण गत वर्षको तुलनामा झण्डै आधाले घटेको देखाएको छ। गत वर्ष यही अवधिमा ५३० जनामा सङ्क्रमण पुष्टि भएको थियो भने यस वर्ष २९२ जनामा मात्र डेङ्गु देखिएको छ।
किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार सन् २०२२ यता डेङ्गु सङ्क्रमण निरन्तर ओरालो लागिरहेको छ। पाँच वर्षको विवरण हेर्दा सन् २०२२ मा ५४ हजार ७८४ जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि सन् २०२३ मा ५२ हजार ७९०, सन् २०२४ मा ४१ हजार ८६५ र सन् २०२५ मा ८ हजार ९३२ जनामा मात्र सङ्क्रमण देखियो। यस वर्षको प्रारम्भिक अवस्था हेर्दा यो संख्या अझ कम रहने संकेत देखिएको छ।
सङ्क्रमण मात्र होइन, डेङ्गुबाट हुने मृत्यु पनि उल्लेखनीय रूपमा घटेको छ। सन् २०२२ मा ८८ जनाको ज्यान गएको थियो। त्यसपछिका वर्षहरूमा यो संख्या क्रमशः घट्दै सन् २०२३ मा २०, सन् २०२४ मा १५ र सन् २०२५ मा ६ मा झरेको छ। चालु वर्षमा हालसम्म दुई जनाको मात्र मृत्यु भएको तथ्याङ्क छ।
तर तथ्याङ्क उत्साहजनक देखिए पनि ढुक्क हुने अवस्थामा भने नभएको जनस्वास्थ्य विज्ञहरुले औलाएका छ्न्।
उनीहरूका अनुसार डेङ्गुका बिरामी घटेका छन्, जोखिम होइन। जलवायु परिवर्तन, शहरीकरण, फोहोर व्यवस्थापनको चुनौती र लामखुट्टेका प्रजननस्थलहरू अझै पनि कायम रहेकाले देशभर डेङ्गुको जोखिम यथावत् छ।
किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार अहिले ७७ वटै जिल्लामा वर्षभरि नै डेङ्गुको सम्भावना रहने अवस्था छ। त्यसैले सङ्क्रमण कम देखिएको भन्दै लापरवाही गर्न नमिल्ने उनको भनाइ छ।
डेङ्गु नियन्त्रणका लागि सरकारले हरेक वर्ष असारको अन्तिम सातादेखि कात्तिकसम्मको अवधिलाई उच्च जोखिमको समय मानेर विशेष अभियान सञ्चालन गर्दै आएको छ। साउन महिनालाई डेङ्गु सचेतना महिनाका रूपमा मनाउने कार्यक्रम पनि निरन्तर चलिरहेको छ। यस अवधिमा सरसफाइ, जनचेतना, लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान तथा स्वास्थ्य निगरानीलाई तीव्रता दिइन्छ।
स्वास्थ्य निकायले डेङ्गु नियन्त्रण केवल अस्पताल र स्वास्थ्य संस्थाको जिम्मेवारी मात्र नभएको निष्कर्ष निकालेको छ। घरआँगनमा जम्मा हुने पानी, टायर, कवाडी, निर्माण सामग्री तथा अन्य खुला भाँडाकुँडामा लामखुट्टेले सजिलै बास बस्ने भएकाले समुदायको सक्रिय सहभागिता अपरिहार्य मानिएको छ। यही कारण सरकारले अटो वर्कसप, कवाडी व्यवसाय, रिसाइकल उद्योग, विद्यालय, होटल तथा विभिन्न सामाजिक सङ्गठनसँग सहकार्य बढाउँदै लगेको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार डेङ्गुलाई पूर्ण रूपमा निर्मूल पार्न कठिन भए पनि यसको प्रभावलाई निकै कम गर्न सकिन्छ। समयमै परीक्षण, उचित उपचार, जोखिम पहिचान र समुदायस्तरको सचेतताले मृत्यु तथा जटिलता घटाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाका प्रमुख डा. अमृत पोखरेलका अनुसार कोभिड–१९ महामारीपछि नेपालको रोग निगरानी प्रणाली थप सबल बनेको छ। अहिले रोग फैलिसकेपछि मात्र प्रतिक्रिया दिने होइन, सम्भावित जोखिमका प्रारम्भिक संकेत पहिचान गरी समयमै नियन्त्रण गर्ने अभ्यास विकसित भएको छ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले पनि जोखिमको स्तरअनुसार स्थानीय, प्रदेश र संघीय तहबाट समन्वित प्रतिकार्य गर्ने व्यवस्था कार्यान्वयनमा रहेको बताएका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख जनरल कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे भने रोग नियन्त्रणको मूल उपाय उपचारभन्दा रोकथामलाई मान्छन्। उनका अनुसार स्वास्थ्यका धेरै समस्या अस्पतालभन्दा बाहिरका कारणसँग जोडिएका हुन्छन्। वातावरणीय सरसफाइ, सुरक्षित खानेपानी, खाद्य सुरक्षा र पशु स्वास्थ्यमा ध्यान दिन सके धेरै रोगहरूको जोखिम कम गर्न सकिन्छ।
डेङ्गुको घट्दो ग्राफले नेपाललाई राहतको अनुभूति गराएको छ। तर स्वास्थ्य विज्ञहरूको चेतावनी स्पष्ट छ।डेङ्गु कमजोर भएको छ, हराएको होइन। त्यसैले सरकारी अभियानसँगै नागरिकको सतर्कता र सहभागिता कायम रहन सके मात्र यो उपलब्धिलाई दीर्घकालीन बनाउन सकिनेछ।


















