काठमाडौं: गर्मी मौसम सुरु भएसँगै बालबालिकालाई पौडी खेल्न ‘स्वीमिङ पुल’ लैजाने क्रम बढेको छ।
विद्यालय बिदा र सातामा दुई दिनको छुट्टीको अवसरमा अभिभावकहरूले बालबालिकालाई मनोरञ्जनका लागि पौडी खेल्न लैजाने गरेका छन्।
तर पछिल्लो समय पौडी खेलेपछि विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने बालबालिकाको संख्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका बालरोग विशेषज्ञ डा. सञ्जयराज थापाका अनुसार हाल ओपिडीमा पौडी खेलेपछि बिरामी भएका बालबालिकाको संख्या उल्लेख्य रूपमा बढेको छ।
उनका अनुसार पौडी खेल्ने क्रममा बालबालिकाले अनजानमै पोखरीको पानी निल्ने, क्लोरिनयुक्त वा फोहोर पानीको सम्पर्कमा आउने कारण घाँटी, कान तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेका छन्।
“क्लोरिनयुक्त पानीले घाँटीमा एलर्जी गराउन सक्छ भने फोहोर पानीका कारण घाँटी र फोक्सोमा संक्रमण हुने जोखिम हुन्छ,” डा. थापाले बताए।
उनका अनुसार कानमा पानी पस्दा कानको संक्रमण भई दुख्ने वा कान पाक्ने समस्या पनि देखिएको छ। गर्मीका कारण स्विमिङ पुलमा अत्यधिक भीड हुने भएकाले पानी छिटो फोहोर हुने र संक्रमणको जोखिम झन् बढ्ने चिकित्सकहरूको भनाइ छ।
संक्रमणका कारण बालबालिकामा घाँटी दुख्ने, टन्सिलाइटिस, कानको संक्रमण तथा केही अवस्थामा छातीमा संक्रमण भई निमोनिया समेत देखिने गरेको छ।
यसैगरी, केही बालबालिकामा उच्च ज्वरो आउने, कम्पन हुने र गम्भीर अवस्थामा अस्पताल भर्ना गर्नुपर्ने अवस्था समेत देखिएको चिकित्सकहरूले बताएका छन्।
चिकित्सकहरूले भीडभाड भएका स्विमिङ पुलमा बालबालिकालाई नलैजान, अनिवार्य निगरानीमा मात्र पौडी खेलाउन, पौडीपछि सफा पानीले नुहाउन र कान राम्ररी सुकाउन सुझाव दिएका छन्। साथै घाँटी वा कानमा समस्या देखिएमा तुरुन्त चिकित्सकसँग परामर्श लिन आग्रह गरिएको छ।
गर्मीबाट बच्न पौडी खेल्नु उपयोगी भए पनि सावधानी नअपनाउँदा बालबालिकामा दीर्घकालीन स्वास्थ्य समस्या निम्तिन सक्ने भएकाले अभिभावकहरूलाई सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन्।



















