काठमाडौं: पर्सा प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ घर भई चितवनको माडी नगरपालिका–९ हनुमानझुला बस्ने ४२ वर्षीय दिपेश हिमडुङ र २६ वर्षीय तिलक हिमडुङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्सामातहतको इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा जगरनाथपुर गाउँपालिका–२ स्थित नहर सडकखण्डमा उनीहरू सवार मोटरसाइकल जाँच गरेको थियो।
ना.१० प ४४६९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले भारतीय रुपैयाँ बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार उनीहरूको साथबाट ५०० दरका ३१६ थान, २०० दरका ७५ थान र १०० दरका ३६५ थान भारतीय नोट बरामद भएको छ।
बरामद नोटको कुल रकम ४ लाख ७१ हजार ५०० भारतीय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रकमको स्रोत नखुलेको र बरामद नोट प्रतिबन्धित भारतीय नोटअन्तर्गत पर्ने भएकाले दुवै जनालाई नियन्त्रणमा लिइएको हो। उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरू सवार ना.१० प ४४६९ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।



















