आमरण अनशनरत नर्स रानाभाटको स्वास्थ्य बिग्रिँदै, उपचार लिन पनि अस्वीकार

काठमाडौं: १५ बुँदे माग राख्दै चार दिनदेखि आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ।

स्वास्थ्य कमजोर हुँदै गए पनि उनले आइतबार उपचार लिनसमेत अस्वीकार गरेकी छन्।

नेपाल नर्सिङ परिषद्को परिसरमा गत बिहीबारदेखि अनशनरत रानाभाटको स्वास्थ्यमा आइतबार थप समस्या देखिएको नर्स गीता बरालले जानकारी दिइन्। उनका अनुसार स्वास्थ्य परीक्षणका क्रममा रानाभाटमा टेपवर्म (आन्द्रामा हुने परजीवी संक्रमण) समेत देखिएको छ।

स्वास्थ्य अवस्था कमजोर भएपछि शनिबार उनलाई वीर अस्पताल लगिएको थियो। पानीसमेत पिउन अस्वीकार गरेपछि जलवियोजनको जोखिम कम गर्न सलाइन दिइएको थियो। तर आइतबार उनले कुनै पनि उपचार लिन नमानेको बरालले बताइन्।

गत वर्ष असोजमा आन्दोलनरत नर्स र सरकारबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै रानाभाट पुनः आन्दोलनमा उत्रिएकी हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्ता टोली गठन गरी मौखिक आश्वासन दिए पनि लिखित प्रतिबद्धता नआएसम्म अनशन नतोड्ने उनको अडान छ।

रानाभाटले पर्याप्त नर्सिङ दरबन्दी, न्यूनतम पारिश्रमिकको सुनिश्चितता, ठेक्का तथा करार प्रणालीको अन्त्य, नर्सिङ शिक्षाको गुणस्तर सुधार र विभेदकारी कानुनी व्यवस्थाको अन्त्यलगायत माग राखेकी छन्।

त्यस्तै, सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा मिडवाइफलाई तोकिएबमोजिम सेवा–सुविधा उपलब्ध गराउनुपर्ने, वैज्ञानिक बिरामी–नर्स अनुपातका आधारमा दरबन्दी कायम गर्नुपर्ने तथा नर्सिङ तथा मिडवाइफ्री सेवा ऐन यथाशीघ्र निर्माण गर्नुपर्ने उनको माग छ।