काठमाडौं: नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा वरिष्ठ नेता बालेन्द्र साह नेतृत्वको वर्तमान सरकार धेरै समय नटिक्ने दाबी गरेका छन्।
पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सरकारभित्रै त्यसलाई अस्थिर बनाउने तत्व रहेको जिकिर गरे। उनका अनुसार अहिलेको सरकारलाई बाहिरबाट कसैले ढाल्न आवश्यक नरहेको र अन्ततः आफ्नै कारणले सरकार ढल्ने अवस्था आउनेछ।
‘अहिलेको सरकार कसैले नढाले पनि आफ्नै अन्तर्विरोधका कारण ढल्ने अवस्था आउँछ,’ ओलीले भने, ‘सरकारभित्रै अस्थिरता पैदा गर्ने प्रवृत्ति छ। त्यसैले यसको आयु धेरै लामो हुने देखिँदैन।’
ओलीले वर्तमान सरकार ‘चटक’का आधारमा बनेको दाबी गर्दै त्यही आधारमा यसको अन्त्य हुने टिप्पणी गरे। सरकार परिवर्तनको प्रतीक्षा मात्र गरेर बस्न नहुने उल्लेख गर्दै उनले त्यसो गर्दा देश र लोकतन्त्र दुवैमा थप क्षति पुग्ने बताए।
उनले एमालेले सरकार परिवर्तनको खेलमा भन्दा पनि जनताको हित, लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय हितका मुद्दामा केन्द्रित भएर काम गर्ने बताए। देशलाई राजनीतिक स्थायित्व, आर्थिक सुधार र सुशासन आवश्यक रहेको उल्लेख गर्दै ओलीले त्यसका लागि जिम्मेवार र परिपक्व नेतृत्व आवश्यक पर्ने धारणा व्यक्त गरे।
ओलीले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै दलहरूबीच जिम्मेवार व्यवहार र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण अपरिहार्य रहेको बताए।



















