सर्वोच्चको अन्तरिम आदेशपछि सुमार्गीमाथिको सम्पत्ति अनुसन्धान रोकियो

काठमाडौं: सर्वोच्च अदालतले व्यवसायी सुमार्गीमाथि भइरहेको अनुसन्धानका सम्बन्धमा अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्चको एकल इजलासले यसअघि दुईवटा निवेदनमा भएको आदेशविपरीत हुने गरी सुमार्गीविरुद्ध कुनै पनि कामकारबाही नगर्न तथा नगराउन आदेश दिएको हो।

सुमार्गीका तर्फबाट दायर निवेदनमा सर्वोच्चकै पुरानो आदेशविपरीत अनुसन्धान अघि बढाइएको जिकिर गरिएको थियो। सोही निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो।

अदालतको आदेशसँगै सुमार्गीको सम्पत्तिसम्बन्धी अनुसन्धान गरिरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हाललाई थप अनुसन्धान प्रक्रिया अघि बढाउन पाउने छैन।

अन्तरिम आदेश कायम रहँदासम्म विभागका अनुसन्धान तथा कारबाहीका प्रक्रिया स्थगित रहनेछन्।
यद्यपि विभागलाई उक्त अन्तरिम आदेश खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिने अधिकार भने सुरक्षित रहनेछ।

अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा खारेज गर्ने विषय आगामी सुनुवाइबाट टुंगो लाग्नेछ।