बालेनको सम्पत्ति विवरणमाथि कांग्रेसको प्रश्न, सुनको स्रोत खुलाउन आग्रह

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख गरिएको सुनको स्रोतबारे प्रश्न उठाएको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले प्रधानमन्त्रीको सम्पत्ति विवरणमा झण्डै दुई सय तोला सुन देखिएको उल्लेख गर्दै त्यसको स्रोतबारे जनतालाई जानकारी दिनुपर्ने बताएका हुन्।

भ्रष्टाचार नियन्त्रणका लागि सरकारले देखाएको इच्छाशक्तिको स्वागत गर्दै उनले भ्रष्टाचार गर्ने जोसुकै व्यक्ति कानुनको दायरामा आउनुपर्ने बताए।

सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूले आफ्नो सम्पत्तिको स्रोत खुलाउनुपर्ने उनको भनाइ थियो।
“सम्पत्ति किन आर्जन गर्नुभयो भन्ने हाम्रो प्रश्न होइन, तर सुन आर्जनको स्रोत के हो भन्ने कुरा जनताले जान्न पाउनुपर्छ,” आङदाम्बेले भने।

उनले भ्रष्टाचार तथा अवैध सम्पत्तिमाथिको छानबिन निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिँदै आफ्नो सम्पत्तिबाटै छानबिन सुरु गर्न आफू तयार रहेको बताए। प्रधानमन्त्रीको सम्पत्तिको समेत छानबिन हुनुपर्ने उनको माग थियो।

आङदाम्बेले प्रधानमन्त्रीको सम्पत्ति अवैध भएको आरोप आफूले नलगाएको स्पष्ट पार्दै जनतामा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताए। “जनताले यति धेरै सुन कहाँबाट आयो भनेर प्रश्न गरिरहेका छन्, त्यसको स्रोतबारे स्पष्ट हुन आवश्यक छ,” उनले भने।

उनले सम्पत्ति छानबिन कानुनी आधार र प्रक्रिया अनुसार हुनुपर्ने बताउँदै कसैलाई पनि कानुनभन्दा माथि राख्न नहुने धारणा व्यक्त गरे।