पोखरा–मुग्लिन सडक आयोजनाको म्याद फेरि थपियो

पोखरा: पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजनाको म्याद चौथोपटक थपिएको छ।

यसअघि तेस्रोपटक थपिएको समयसीमा सकिएपछि आयोजनालाई आगामी मङ्सिर १० गतेसम्म अन्तिम समय दिइएको हो।

मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) का आयोजना प्रमुख कृष्णबहादुर कुँबरले निर्माण कार्य निर्धारित समयमा पूरा हुन नसकेपछि म्याद थप्नुपरेको बताए। उनका अनुसार यसअघि असार १५ गतेसम्मको समयसीमा तोकिएको थियो।
“अब थपिएको समय अन्तिम हो। थप म्याद दिइने छैन र तोकिएकै अवधिमा काम सम्पन्न हुन्छ,” उनले भने।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालन भइरहेको आयोजनाअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.७१ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ। बजार क्षेत्रमा छ लेन र पहाडी क्षेत्रमा चार लेन सडक निर्माण गरिँदै छ।

आयोजनाका अनुसार हालसम्म ८२.३७ प्रतिशत भौतिक प्रगति भएको छ। वर्षा, पेट्रोलियम पदार्थको आपूर्ति समस्या तथा निर्माण सामग्रीको मूल्यवृद्धिका कारण काम प्रभावित भएको आयोजनाले जनाएको छ।

हाल करिब १० किलोमिटर सर्भिस लेन, सडक सुरक्षा संरचना, सडक मार्किङ, थर्मोप्लास्टिक पेन्ट तथा ‘डब्लु बिम रोड सेफ्टी ब्यारियर’ जडानको काम बाँकी छ। पोखरा विश्वविद्यालय क्षेत्र र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकका केही भागमा विद्युत् पोल स्थानान्तरण हुन बाँकी रहेकाले निर्माण कार्य प्रभावित भएको छ।

आयोजनाका सूचना अधिकारी अनन्त बरालका अनुसार कालोपत्रे सम्पन्न भएका क्षेत्रमा सर्भिस लेन, सडक सुरक्षा तथा मार्किङको कामलाई तीव्रता दिइएको छ।

पाँच वर्षअघि सुरु भएको यो आयोजना पोखरा र काठमाडौंबीचको यात्रा सहज बनाउने उद्देश्यका साथ अघि बढाइएको भए पनि पटक–पटक म्याद थपिँदा सम्पन्न हुने समय भने लम्बिँदै गएको छ।