समिति सदन भन्दा सरकारप्रति बढी जिम्मेवार भएको सांसदहरुको आरोप

सांसदहरुको आरोप

समितिको कामकारबाहीलाई प्रभावकारी बनाउन सांसदहरुले समिति सभापतिको ध्यानाकर्षण गराएका छन् ।
बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरुले समितिले प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले विधेयक वर्षौंसम्म अड्काएर राख्न नहुनेमा जोड दिए । समितिमा आएको जलश्रोत विधेयक, २०८१ सहितका अन्य विधेयकहरु छिटो टुंग्याउनुपर्नेमा जोड दिए । समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद महेश बस्नेतले अर्थतन्त्रलाई गतिशिल बनाउने सन्दर्भमा पनि पूर्वाधार विकास समितिको भुमिका महत्वपूर्ण रहेको
बताए ।
उनले नेपाल सरकारले आफ्नो क्रय शक्तिलाई पूर्ण रुपमा सञ्चालन गर्न नसक्दा आम रुपमा श्रोत र साधन तल जान नसकेको बताए ।
जसले गरिबी घटाउन र विकास निर्माण अघि बढाउन नसकिरहेको उनको भनाइ छ ।
विधेयकको छलफललाई वृहत दायरामा लैजाने कुरामा समिति अघि बढ्नुपर्ने उनले बताए ।
समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सरकारलाई दबाब दिएर भएपनि समितिमा आएको जलश्रोत विधेयकसहितका विधेयकहरु छिटो टुंग्याउनुपर्ने बताए ।उनले समितिमा परेका उजुरीका सम्बन्धमा उपसमिति गठन गरेर जानुपर्ने माग गरे ।
। उनले आफ्नो समितिसँग सम्बन्धित विषयहरुमा बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले समिति सदनप्रति जवाफदेही हुन नसकेको आरोप लगाए । उनले समिति र संसदप्रति बढी जवाफदेही हुनुपर्नेमा सरकारप्रति बढी जवाफदेही बन्ने गरी अघि बढिरहेको बताए । यसका साथै समितिको काम कारबाहीलाई व्यवस्थित गर्न आग्रह गरे ।
समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले पूर्वाधार विकाससम्बन्धी महत्वपूर्ण कामहरु अघि बढिरहेको बताए ।
उनले केही अलपत्र रहेको र केही सम्पन्न हुने स्थिति रहेको भन्दै अलपत्र आयोजनारुहरु अघि बढाउन आवश्यक रहेको बताए ।
सांसद नेपालीले मुग्लिङ–पोखरा सडक खण्डको समितिले स्थलगत अनुगमन गर्नुपर्ने माग गरे ।