इटहरी गोल्ड कपको उपाधिका लागि सगरमाथा युथ र मच्छिन्द्र आमनेसामने हुँदै

काठमाण्डौः १५ औँ संस्करणको इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज सगरमाथा युथ क्लब मोरङ र मच्छिन्द्र फुटबल क्लब काठमाडौं प्रतिस्पर्धा गर्दै छन् ।

सगरमाथा युथ क्लबले क्वाटर फाइनलमा न्यूरोड टिम (एनआरटि) र सेमिफाइनलमा धरान फुटबल क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै मच्छिन्द्रले क्वाटर फाइनलमा झापा फुटबल क्लब र सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) भारतलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

शुक्रबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक तथा कप्तानले खेल आफूले जित्ने दाबी गरे । दुई पटकको उपाधि विजेता सगरमाथा युथ क्लब आफ्नो जितलाई ह्याट्रिक बनाउने योजनामा रहँदा मच्छिन्द्र क्लब पनि पहिलो पटक फाइनल खेल खेल्दै उपाधि जितेर इतिहास बनाउने रणनीतिमा छ ।

प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ ।