झापाः झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका बिरामी फेला परेका छन् ।
आर्थिक वर्षको साउनदेखि पुससम्ममा यी नयाँ बिरामी फेला परेका हुन् ।
आर्थिक वर्ष २०७९\८० मा एक सय ६० तथा आव २०८०\८१ मा एक सय २२ नयाँ कुष्ठरोगी फेला परेका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् ।
कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक–एक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँच–पाँच नयाँ बिरामी फेला परेको कार्यालयले जनाएको छ ।
यस्तै, झापा गाउँपालिका र बाह्रदशीमा दुई–दुई, बिर्तामोडमा ६, हल्दिबारीमा चार तथा कचनकवलमा आठ नयाँ कुष्ठरोगी फेला परेका छन् ।
हात्तीपाइले संक्रमण उच्च
जिल्लामा हात्तीपाइले रोगको सङ्क्रमण समेत उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले बताए ।
जिल्लामा हाल हात्तीपाइले रोगीको संख्या करिब दुई हजार दुई सय रहेको उनले जानकारी दिएका छन् ।
प्रादेशिक अस्पताल भद्रपुर र दमक अस्पतालमा हात्तीपाइले रोगको निःशुल्क उपचार हुँदै आएको छ ।
प्रादेशिक अस्पतालेले आर्थिक वर्ष २०७९\८० देखि अस्पतालमा हात्तीपाइले रोगको उपचारका लागि छुट्टै बहिरङ्ग सेवा सुरु गरेको जनाएको छ ।
अस्पतालका अनुसार हात्तीपाइले रोगको उपचारका लागि सरकारले वार्षिक दुई लाख रुपैयाँ उपलब्ध गराएको छ । तर खर्च पर्याप्यत नभएको अस्पतालको भनाई छ ।
विपन्न वर्गका बिरामी धेरै भएकाले आर्थिक अभावले उनीहरू उपचारको दायरा सम्म नआउँने अस्तालको भनाई छ ।



















