काठमाडौँः पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप करिब पाँच लाख मात्रा ल्याइएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका अनुसार आइतबार थप चार लाख ९६ हजार दुई सय ८० मात्रा खोप थप खोप ल्याइएको हो ।
सरकारले यसभन्दा अघि दुई पटक एचभिपी खोप ल्याइसकेको छ । उक्त खोप टेकुस्थित भण्डारण कक्षमा भण्डारण गरिएको छ ।
यसअघि ल्याइएका खोपलाई प्रदेश कार्यालयमा पठाइएको र यो खोप पनि प्रदेश कार्यालयमा पठाइने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी दिए ।
‘एचपिभी’ खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा चीनबाट नेपाल ल्याइएको हो । सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गदैछ ।
पन्ध्र दिनसम्म चल्ने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरी खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । उनका अनुसार १७ लाख ७० हजार मात्र गाभीले नेपाललाई उपलब्ध गराउने छ ।
नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण भएकाले यसको रोकथापका लागि यस विरुद्ध खोप महत्वपूर्ण मानिएको छ ।



















