काठमाडौं ः आईसीसी यु १९ महिला टी २० विश्वकप अन्तर्गतको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजले नेपाललाई ११० रनको लक्ष्य दिएको छ। मलेसियाको कोलेज टुंकु जाफर मैदानमा वेस्ट इन्डिजकी कप्तान समारा रामनाथले टस जितेर पहिला ब्याटिङ रोजेकी थिइन्। टोलीले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १०९ रन बनायो। उसका लागि कप्तान समराले सर्वाधिक २५ रन बनाउँदा असब क्यालेन्डरले २३, जजारा क्लाक्सटनले २२, अभिगेल ब्रेसीले १९ र अमृता रामतहलले १० रन जोडे।नेपालका लागि सिमाना केसी र रचनाकुमारी चौधरी समान एक–एक विकेट लिँदा दुई वटा रनआउट भएको थियो। पाँच बलरले नेपालका लागि बलिङ गरेकोमा १० रन अतिरिक्त दिएका थिए। नेपालले अब केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। नेपालले बुधबार अमेरिकाको यु१९ महिला टोलीसँग पनि आफ्नो दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ। विश्वकपका आधिकारिक खेलहरू भने आगामी शनिबारदेखि सुरु हुनेछ। यु१९ महिला विश्वकपमा नेपाल पहिलो पटक सहभागी हुँदैछ। १६ टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘डी’मा रहेको छ। नेपाल रहेको समूहमा बंगलादेश, अष्ट्रेलिया र स्कटल्यान्ड छन्।













