युक्रेनसँगको युद्धमा तीन सय उत्तर कोरियाली सैनिकको मृत्यु, दुई हजार सात सय जना घाइते

युद्धमा सैनिकको मृत्यु

सियोल युक्रेनसँगको युद्धमा तीन सय उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् । रूसले युक्रेनविरुद्धको युद्धमा करिब तीन सय उत्तर कोरियाली सैनिकको मृत्यु हुनुका साथै दुई हजार सात सय जना घाइते भएको दक्षिण कोरियाली सांसदले सोमबार सियोलको गुप्तचर निकायबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै बताएका छन । सियोलले यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको भारी प्रतिबन्धित हतियार र स्याटेलाइट कार्यक्रमका लागि रूसी प्राविधिक सहयोगको बदलामा मस्कोलाई किएभविरुद्ध लड्न १० हजारभन्दा बढी सैनिक पठाएको दाबी गरेको थियो । सप्ताहन्तमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभले दुई जना उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको र घाइते लडाकुलाई सोधपुछ गरिएको भिडियो सार्वजनिक गर्दै पक्राउ परेका युक्रेनी सैनिकका लागि कैदी साटासाटको सम्भावना बढाएको बताएका थिए । एनआइएसको विश्लेषणले उत्तर कोरियाली सैनिकमा ‘आधुनिक युद्धबारे नबुझेको’ र रूसले यसलाई ‘हताहत हुनेको संख्या उच्च’ हुने गरी प्रयोग गरिरहेको देखाएको छ ।