काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध चितवनमा पनि सहकारी ठगीको मुद्दा दर्ता गर्ने तयारी भएको छ । चितवन प्रहरीले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा लामिछानेसहित ३१ व्यक्ति र ७ कम्पनीविरुद्ध पूरक प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा यसअघि पनि अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलकहाँ बुझाइसकेको छ । अनुसन्धान प्रतिवेदन अनुसार सहकारीबाट विभिन्न कम्पनीमा ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ लगानी अवैध रुपमा गरेको पाइएको छ। गोर्खा मिडिया नेट्वर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ, नेचर हब्र्स इन्टरनेसनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७ रुपैयाँ, जीबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ रुपैयाँ, स्प्रिङ उड रियल स्टेटमा ६ करोड ८१ लाख ८८ हजार ७०३ रुपैयाँ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ रुपैयाँ लगानी भएको देखिएको छ। सहकारीका कुल ६,३३४ बचतकर्ताको जम्मा बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रुपैयाँ रहेको छ । उक्त सहकारीको कुल दायित्व पुँजी ६५ करोड १६ लाख ७१ हजार ७१२ रुपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।




















