यूएईमा जारी तेस्रो संस्करणको इन्टरनेशनल लिग टी–२० (आईएल टी–२०) मा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीआबद्ध गल्फ जायन्ट्सले दोस्रो जित निकालेको छ ।
दोस्रो जित निकाल्नेक्रममा गल्फले गएराति सम्पन्न खेलमा एमआई इमिरेट्सविरुद्ध २ विकेटको रोमाञ्चक जित निकाल्यो । यस खेलमा एमआईले दिएको १ सय ५२ रनको लक्ष्य गल्फले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर पूरा ग¥यो ।
त्यसअघि जायद क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको एमआईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५१ रन बनायो । उसका लागि टम ब्यान्टनले ३९ बलमा ८ चौका र एक छक्कासहित सर्वाधिक ५६ रन बनाए ।
दीपेन्द्रले यस खेलमा पनि डेब्यूको मौका पाएनन् । जारी सिजनमा गल्फले ६ म्याच खेलिसक्दा पनि उनले डेब्यूको मौका नपाएका हुन् ।
दीपेन्द्रआबद्ध गल्फ अहिले तालिकाको पाँचौं स्थानमा छ । यस्तै, अर्का नेपाली अलराउन्डर कुशल मल्लआबद्ध डेजट भाइपर्सले छैटौँ जित निकाल्नेक्रममा शारजाह वारियर्सलाई ८ विकेटले हराएको छ ।
डेजर्टले ७ म्याच खेल्दासम्म कुशलले पनि आईएल टी–२० मा डेब्यूको मौका पाएका छैनन् । उनीआबद्ध डेजर्ट ७ खेलबाट १२ अंकसहित अहिले तालिकाको शीर्ष स्थानमा छ ।












