काठमाण्डौः आसन्न नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीले तयारीलाई मजबुत बनाउन दुई प्रमुख खेलाडीलाई टोलीमा कायम (रिटेन गरेको ) राखेको छ ।
नेपाली राष्ट्रिय टोलीका डिफेन्डर सनिश श्रेष्ठ (श्रेणी ए) र प्रतिभाशाली मिडफिल्डर आदित्य शाक्यले (श्रेणी बी) आगामी सिजन पनि ललितपुर सिटी एफसीबाट खेल्ने भएका छन्।
राष्ट्रिय टोलीका महत्त्वपूर्ण खेलाडी सनिश श्रेष्ठले आफ्नो उत्कृष्ट डिफेन्स र नेतृत्व क्षमताका कारण टोलीका लागि महत्वपूर्ण योगदान दिएका छन्।
उनको निरन्तरताले ललितपुर सिटी एफसीको डिफेन्सलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। त्यस्तै, युवा मिडफिल्डर आदित्य शाक्य गत सिजन क्लबको लागि महत्त्वपूर्ण खेलाडी साबित भएका थिए।
उत्कृष्ट प्लेमेकरका रूपमा चिनिएका आदित्यले गत सिजनको फाइनल खेलमा म्यान अफ द म्याच बनेर क्लबलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनको उपस्थितिले टोलीको आक्रमणलाई थप रचनात्मक बनाउने विश्वास गरिएको छ।
ललितपुर सिटी एफसीका प्रबन्ध निर्देशक आलोक जंग जोशीले भने, “सनिश र आदित्य हाम्रो टोलीका महत्वपूर्ण सदस्य हुन्, र हामी उनीहरूलाई फेरि पनि ललितपुर सिटी एफसीमा देख्न पाउँदा खुसी छौं।
उनीहरूको योगदान गत सिजन अमूल्य रह्यो, र यसपटक झन् उत्कृष्ट प्रदर्शन गर्ने विश्वास छ।“ एनएसएलको खेलाडी अक्सन फेब्रुअरी २२ मा हुदैछ । यो सिजन ७ टिमले खेल्ने छन् ।












