छुट्टाछुट्टै दुर्घटनामा परी मकवानपुरमा दुईजनाको मृत्यु

काठमाडौं: मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा सडक पार गर्न खोज्दा बसको ठक्करबाट उदयपुरको त्रियुगा नगरपालिका–२ का ५८ वर्षीय जितबहादुर प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बाप्र०१–००६ख ६७१६ नम्बरको गाडी रोकेर शौचालय जानका लागि सडक पार गर्ने क्रममा ना८ख १८०९ नम्बरको बसले ठक्कर दिँदा प्रधानको मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

यस्तै, मकवानपुरगढीमा आइतबार भएको अटोरिक्सा दुर्घटनामा परी गम्भीर घाइते भएका हेटौँडा उपमहानगरपालिका–८, ओमनगरका ५४ वर्षीय सुर्ज थापामगरको उपचारका क्रममा सोमबार मृत्यु भएको छ ।

कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरगढी गाउँपालिका–२ गढी दरबारस्थित सडकमा ना२ह १२९० नम्बरको अटोरिक्सा अनियन्त्रित भई दुर्घटना भएको हो । गम्भीर घाइते मगरको काठमाडौंस्थित अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।