काठमाडौं: गणेश थापालाई एन्फाको साधारण सभास्थलमा प्रवेश गर्न नदिएपछि तनाव उत्पन्न भएको छ ।
काभ्रेको धुलिखेलमा आयोजना भएको एन्फाको साधारण सभामा थापाको प्रवेश पास नभएको भन्दै एक समूहले थापालाई गेटमै रोकेपछि तनाव उत्पन्न भएको हो ।
सभामा आफूलाई रोकेपछि आक्रोशमा आएका एन्फा पूर्व अध्यक्ष थापाले भनेका छन्- “कि अदालतको निर्णय मान्दिन भन्नुपर्यो कि साधारण सभामा प्रवेश गर्न दिनुपर्यो ।”
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले थापालाई १६ अप्रिल २०१५ देखि प्रतिबन्ध लगाएपछि उनी निष्कृयजस्तै भएका थिए । १५ अप्रिल २०२५ मा प्रतिबन्ध फुकुवा भएपछि उनी फुटबलका गतिविधिहरुमा पुनः सक्रिय हुन थालेका थिए ।
थापाले भ्रष्टाचार गरेको, घुस लिएको र विभिन्न धाराहरु उल्लंघन गरेको ठहर फिफाको अनुशासन समितिले गरेपछि उनी दश वर्षे प्रतिबन्ध र २१ लाख जरिवानामा परेका थिए ।
प्रतिबन्ध अवधिमा उनले सामाजिक सन्जाल र मिडियाहरुमार्फत् एन्फाको गतिविधिको चर्को आलोचना गर्दै आफ्ना अभिव्यक्ति सार्वजनिक गरेका थिए ।
यसबीच प्रतिबन्ध फुकुवा भए पनि एन्फाले साधारण सभामा आफूलाई रोक लगाउन सक्ने संकेत पाएको भन्दै उनले साधारण सभामा भाग लिन पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट दिएका थिए ।
२१ वैशाखमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाकै पक्षमा फैसला गरेपछि उनी आज साधारण सभामा भाग लिन धुलिखेल पुगेका थिए ।



















