फोहरबाट टायल उत्पादन गरिदैँ

घोराही: दाङको राप्ती गाउँपालिकामा फोहोरबाट टायल उत्पादन गर्न सुरु गरिएको छ ।

राप्ती गाउँपालिका–२, पुण्यपुरमा प्लास्टिकजन्य फोहोरबाट टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन सुरु गरिएको हो ।

प्लास्टिकजन्य फोहोरलाई मोहर बनाउने गाउँपालिकाको अभियान अन्तर्गत इको फ्यामिली प्रालि हेटौँडासँगको सहकार्यमा फोहोरबाट टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन गर्न थालिएको छ ।

फोहोरलाई व्यवस्थापन गरेर गल्ने फोहोरबाट टायल, इन्टरलक इँटालगायतका सामाग्री उत्पादन गर्न थालिएको इको फ्यामिली प्रालिका सुपरभाइजर लालबहादुर चौधरीले बताए ।

चौधरीका अनुसार फोहोरका रूपमा फालिने चाउचाउ, बिस्कुट, भोला, गुट्खालगायतका प्लास्टिकबाट टायल, इन्टरलक इँटा, टाँक उत्पादन गर्ने योजना भए पनि पहिलो चरणमा टायल उत्पादन गरिएको जानकारी दिए। उनले भने-
“परीक्षणका रूपमा उत्पादन गरिसकेका छौँ । उत्पादन राम्रो निस्किएको छ तर प्लास्टिकलाई पगालेर गोलो बनाउने मेसिन अझै आइनपुग्दा नियमित उत्पादन गर्न सकेका छैनौँ । चाँडै काम गर्नका लागि एग्लो मेसिन आउँँदै छ । उक्त मेसिन आइपुग्यो भने नियमित उत्पादन हुन्छ ।”

उत्पादन भएको टायल प्रतिपिस ३५ रुपियाँका दरले बिक्री हुने र गाउँपालिकाभित्रका नागरिकलाई २० प्रतिशत छुटमा दिने व्यवस्था गरिएको छ ।

चौधरीले फोहोरबाट टायल उत्पादन गर्न थालेपछि खरिदका लागि मानिस आउने गरे पनि नियमित नहुँदा आफूहरूले अर्डर लिन नसकेको उनको दुखेसो छ ।

टायल पूर्ण वातावरणमैत्री, घामपानीले बर्सौंसम्म केही गर्न नसक्ने र तीन हजार तीन सय टन भारवहन क्षमता भएका घरदेखि सरकारी कार्यालय एवं पार्कमा प्रयोग गर्न सकिने छ ।

गल्ने फोहोर प्लास्टिकबाट टायल, इन्टरलक इँटा, टाँकलगायतका सामग्रीसहित जैविक वस्तुबाट मल उत्पादन गर्ने गरी २०७९ भदौमा सम्झौता भएको थियो । स्वच्छ र हरित पालिका निर्माण गर्ने अभियान अन्तर्गत फोहोरबाट सामग्री उत्पादन थालेको उपाध्यक्ष चौधरीले बताए ।