ताप्लेजुङ: ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ (पाथीभरा) मा निर्माण हुन लागेको केबलकार परियोजनासम्बन्धी लामो समयदेखि जारी विवाद समाधानका लागि सरकारले सात सदस्यीय कार्यदल गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयअनुसार प्रधानमन्त्रीका सामाजिक विकासविज्ञ विश्व राईको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार कार्यदललाई १५ दिनभित्र विवादको पहिचान गरी समाधानका लागि सुझाव पेस गर्ने कार्यादेश दिइएको छ।
कार्यदलमा पूर्वाधार विकास मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर, केबलकार निर्माणको विरोध गर्ने पक्षका प्रतिनिधि, पाथीभरा क्षेत्र विकास समितिका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव तथा प्रधानमन्त्री सचिवालयका स्वकीय सहसचिव सदस्य रहेका छन्।
पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणलाई लिएर स्थानीय समुदाय, धार्मिक समूह र सरोकारवालाबीच मतभेद रहँदै आएको छ। एक पक्षले यसलाई धार्मिक पर्यटन प्रवर्द्धन र यातायात सहज बनाउने अवसरका रूपमा हेरेको छ भने अर्को पक्षले सांस्कृतिक तथा धार्मिक संवेदनशीलता र वातावरणीय असरबारे चिन्ता व्यक्त गर्दै विरोध जनाउँदै आएको छ।
सरकारले सबै सरोकारवालालाई समेटेर समस्या समाधानको उपाय खोज्ने उद्देश्यसहित कार्यदल गठन गरेको जनाएको छ।


















