१०० दिनभित्र २५ ‘ब्लु बस’ सञ्चालन गर्ने सरकारको योजना, महिलाले निःशुल्क यात्रा गर्न पाउने

काठमाडौं:  सरकारले महिलाका लागि लक्षित निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारीलाई तीव्रता दिएको छ।

सरकारको १०० दिने कार्ययोजनाअन्तर्गत देशभर २५ वटा ब्लु बस सञ्चालनमा ल्याउने लक्ष्य तय गरिएको हो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकामा साझा यातायातसँगको सहकार्यमा सात वटा बस सञ्चालन गरिनेछ।

त्यस्तै, अन्य प्रदेशमा यातायात व्यवसायीहरूसँग समन्वय गरी थप १८ वटा बस सञ्चालन गर्ने तयारी भइरहेको छ।

ब्लु बस सेवा महिलाको सुरक्षित, सहज र सम्मानजनक यात्रालाई केन्द्रमा राखेर ल्याउन लागिएको मन्त्रालयले जनाएको छ। सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, समयतालिका, लागत अनुमान तथा सञ्चालन मोडालिटीसम्बन्धी प्रस्ताव तयार भइसकेको र त्यसअनुसार प्रशासनिक प्रक्रिया अगाडि बढाइएको मन्त्रालयको भनाइ छ।

सरकारले आगामी आर्थिक वर्षभित्र सातै प्रदेशमा ब्लु बस सेवा विस्तार गर्ने योजना समेत बनाएको छ। सेवा सञ्चालनमा आएपछि विद्यार्थी, श्रमिक, कर्मचारी तथा दैनिक रूपमा सार्वजनिक यातायात प्रयोग गर्ने महिलाले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ।

यसैबीच सार्वजनिक यातायातलाई थप सुरक्षित बनाउन सिसीटिभी र ड्यासक्याम जडान अभियान पनि अघि बढाइएको छ। मन्त्रालयका अनुसार हालसम्म साझा यातायातका १११, महागर यातायातका ४६ तथा पाँचपोखरी सुनौलो यातायातका तीन बसमा सिसीटिभी र ड्यासक्याम जडान गरी सञ्चालनमा ल्याइएको छ।

सार्वजनिक सवारीमा हुने लैङ्गिक हिंसा तथा दुर्व्यवहार न्यूनीकरण गर्न प्रविधिको प्रयोग बढाउँदै लगिएको मन्त्रालयले जनाएको छ।

साथै, ट्राफिक प्रहरीमार्फत निगरानी व्यवस्था सुदृढ पार्ने र सार्वजनिक यातायातलाई यात्रुमैत्री बनाउने मापदण्ड कार्यान्वयनको प्रक्रिया पनि अगाडि बढाइएको जनाएको छ।