जलवायु अनुकूल प्रविधिबाट धानमा आत्मनिर्भरता सम्भव : मन्त्री चौधरी

काठमाडौं: कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका असर बढ्दै गइरहेका बेला धान उत्पादन वृद्धि र आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान तथा प्रभावकारी समन्वय अपरिहार्य रहेको बताएकी छन्।

२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराले वर्तमान कृषि क्षेत्रको आवश्यकता र चुनौतीलाई प्रतिबिम्बित गरेको उल्लेख गरेकी हुन्।

उनले धान नेपालीको प्रमुख खाद्यान्न मात्र नभई सामाजिक, सांस्कृतिक र धार्मिक जीवनसँग समेत जोडिएको महत्वपूर्ण बाली भएको बताइन्। स्थानीय तथा जंगली धानका प्रजातिको संरक्षण र उपयोगले जैविक विविधता जोगाउनुका साथै जलवायु परिवर्तनसँग जुध्न सक्ने क्षमता विकास र खाद्य सुरक्षामा टेवा पुग्ने उनको भनाइ छ।

मन्त्री चौधरीले धान तथा चामलको आयात प्रतिस्थापनका लागि बर्खे र चैते धान खेती विस्तार, उन्नत बीउ विकास, सिँचाइ सुविधा वृद्धि, कृषि प्रविधिको विस्तार तथा किसानलाई आवश्यक उत्पादन सामग्री सहज रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिइन्। किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था पनि उत्तिकै महत्वपूर्ण रहेको उनले उल्लेख गरिन्।

साथै, स्थानीय र जंगली धानका जातको पहिचान, संरक्षण तथा जलवायुमैत्री नयाँ प्रजाति विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको उनले औँल्याएकी छन्।