अण्डाको मूल्य बढ्यो, तर किसानले अझै पाएनन् लागत

काठमाडौं: बर्डफ्लुको प्रभावका कारण केही समय घटेको अण्डाको मूल्य फेरि बढ्न थालेको छ।

उत्पादनमा कमी आउँदा बजारमा आपूर्ति घटेको र माग बढेपछि मूल्य वृद्धि भएको हो।

नेपाल लेयर्स कुखुरापालक संघले बुधबारदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण गरेको छ। संघका अनुसार:

ठूलो अण्डा: प्रति क्रेट (३० वटा) रु ४५० बाट रु ५००
मध्यम अण्डा: रु ४२० बाट रु ४७०
सानो अण्डा: रु ३६५ बाट रु ४१५ (सबै आकारमा प्रति क्रेट रु ५० वृद्धि)

संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुका कारण दैनिक अण्डा उत्पादन करिब ४५ लाखबाट घटेर २८ लाख गोटामा सीमित भएको छ। उत्पादन घट्दा बजारमा अण्डाको अभाव देखिएको र त्यसै कारण मूल्य बढ्न थालेको उनले बताए।

उनका अनुसार जेठको अन्तिमतिर प्रति क्रेट अण्डा रु ५५० सम्म बिक्री भएको थियो। त्यसपछि माग घट्दा मूल्य रु ४५० मा झरेको थियो। अहिले भने खपत बढेसँगै मूल्य फेरि उकालो लागेको हो।

यद्यपि, मूल्य बढे पनि किसानले अझै उत्पादन लागत बराबरको मूल्य नपाएको अध्यक्ष पोखरेलको भनाइ छ। उनका अनुसार एक क्रेट अण्डाको उत्पादन लागत रु ५७३.६० (प्रतिगोटा रु १९.१२) पर्छ। उनले निकट भविष्यमा लागतअनुसारको मूल्य पाउने अपेक्षा व्यक्त गर्दै बर्डफ्लुबाट प्रभावित किसानलाई राज्यले राहत उपलब्ध गराउनुपर्ने माग पनि गरेका छन्।