काठमाडौं: कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनास्थलको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान तथा अन्य प्राविधिक प्रमाणहरूको विश्लेषणपछि बाह्य व्यक्तिको संलग्नता नदेखिएको र श्रेष्ठ आफैंले कारभित्र आगो लगाएको निष्कर्षमा प्रहरी पुगेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरका अनुसार मंगलबार बिहान करिब ११:२० बजे श्रेष्ठले बा ५ च ३०३८ नम्बरको कार आफैं चलाएर कीर्तिपुरको ट्याङ्गलाफाँटस्थित चाँदनी चोक नजिक पुर्याएका थिए। उनले सडकबाट केही पर रहेको खाली जग्गामा कार पार्क गरेपछि केही समयमै कारभित्रबाट आगो सल्किएको प्रत्यक्षदर्शीहरूले देखेका थिए।
आगलागी देखेपछि घटनास्थल नजिक रहेका एक युवकले तत्काल उद्धारको प्रयास गरेका थिए। प्रहरीका अनुसार सीसीटीभी फुटेजमा उनी कारतर्फ दौडिँदै गएर अगाडिको ढोका खोल्ने प्रयास गरेको देखिन्छ। चालकतर्फको ढोका खोल्ने क्रममा उनको हातसमेत पोलेपछि उनी पछि हट्न बाध्य भएका थिए।
प्रहरीले घटनास्थलबाट संकलन गरिएका प्रमाण, सीसीटीभी दृश्य र अन्य प्राविधिक अनुसन्धानको विश्लेषणपछि हालसम्म बाह्य व्यक्तिको संलग्नताको कुनै संकेत फेला नपरेको जनाएको छ। यस आधारमा श्रेष्ठले आफैंले कारभित्र आगो लगाएर आत्मदाह गरेको प्रारम्भिक निष्कर्ष निकालिएको प्रहरीको भनाइ छ।
यद्यपि, प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ। अनुसन्धान पूरा भएपछि घटनाको विस्तृत प्रतिवेदन सार्वजनिक गरिने प्रहरीको भनाइ छ।


















