काठमाडौं: सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको विस्तार गर्दै नेपाललाई आयुर्वेदिक स्वास्थ्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने तयारी अघि बढाएको छ।
यस विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा बुधबार उच्चस्तरीय छलफल सम्पन्न भएको हो। छलफलमा आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउने, स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने तथा नीतिगत सुधारमार्फत यसको पहुँच विस्तार गर्ने विषयमा विशेष जोड दिइएको थियो।
मन्त्री मेहताले नेपाल आयुर्वेदको उद्गमस्थल भएकाले यसको संरक्षण, प्रवर्द्धन र विकास सरकारको प्राथमिकतामा रहेको बताइन्। आयुर्वेदलाई स्वास्थ्य पर्यटनसँग जोड्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न आवश्यक नीतिगत तथा संस्थागत सहयोग उपलब्ध गराइने उनको भनाइ थियो।
छलफलमा पोखराको गण्डकी आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र तथा बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेदिक स्वास्थ्य पर्यटनका प्रमुख केन्द्रका रूपमा विकास गर्ने विषयमा पनि सहमति जुटाइएको छ। यी संस्थाको पूर्वाधार, विशेषज्ञ जनशक्ति र अन्तर्राष्ट्रियस्तरको वेलनेस सेवा विस्तार गरी विदेशी पर्यटक आकर्षित गर्ने योजना मन्त्रालयले अघि सारेको छ।
यस्तै, आयुर्वेद सेवालाई स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने, मन्त्रालयअन्तर्गतको संस्थागत संरचना सुदृढ गर्ने, जडीबुटी उत्पादनदेखि प्रशोधन र औषधि निर्माणसम्मको मूल्य शृंखला विकास गर्ने तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का मापदण्डअनुसार उत्पादन प्रणालीलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो।
कार्यक्रममा मन्त्रालयका उच्च अधिकारी, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, सिंहदरबार वैद्यखाना, नरदेवी आयुर्वेद चिकित्सालय, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल आयुर्वेद चिकित्सक सङ्घ तथा राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रका प्रतिनिधिहरू सहभागी थिए।
मन्त्रालयले छलफलबाट प्राप्त सुझावलाई नीतिगत निर्णय र कार्ययोजनामार्फत क्रमिक रूपमा कार्यान्वयनमा लैजाने जनाएको छ।


















