१५० युनिटसम्म विद्युत्मा भ्याट नलाग्ने गरी सरकारको गृहकार्य

काठमाडौं: सरकारले घरायसी विद्युत् खपतमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने सीमा तीन गुणा बढाउने तयारी गरेको छ।

हाल ५० युनिटभन्दा बढी विद्युत् खपतमा लाग्दै आएको भ्याटको सीमा बढाएर १५० युनिटसम्म पुर्‍याउने गरी सरकारले गृहकार्य अघि बढाएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भ्याट नलाग्ने विद्युत् खपतको सीमा बढाउने विषयमा अर्थ मन्त्रालयसँग छलफल थालेको छ। अर्थ मन्त्रालय स्रोतले पनि घरायसी उपभोगमा १५० युनिटसम्म विद्युत् खपत गर्दा भ्याट नउठाउने विषयमा प्रारम्भिक छलफल भइरहेको पुष्टि गरेको छ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताका लागि ५ प्रतिशत भ्याट लगाउने घोषणा गरेको थियो। त्यसपछि उपभोक्तामाथि थपिएको करको भार कम गर्न भ्याट लाग्ने सीमा पुनरावलोकन गर्न लागिएको हो।

यसअघि उपभोक्तालाई विद्युत् महसुलमा राहत दिने उपाय खोज्न नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा विद्युत् महसुल पुनरावलोकन समिति गठन गरिएको थियो।

समितिले कर बढेको अवस्थामा विद्युत् महसुल समायोजन गरेर उपभोक्तालाई राहत दिन सकिने विकल्पबारे अध्ययन गरिरहेको थियो। तर, पछिल्लो समय महसुल घटाउनेभन्दा भ्याट नलाग्ने विद्युत् खपतको सीमा नै बढाउने विकल्पमा सरकारको गृहकार्य केन्द्रित भएको स्रोतले जनाएको छ।

‘विद्युत् महसुल पुनरावलोकनका विषयमा पनि छलफल भइरहेको छ। घरायसी उपभोगमा १५० युनिटसम्म भ्याट नउठाउने विषयमा अर्थ मन्त्रालयमा पनि प्रारम्भिक छलफल भइरहेको अर्थ मन्त्रालयले जनाएको छ।

भ्याट छुटको सीमा बढाउँदा सरकारको राजस्वमा पर्ने असरबारे नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित मन्त्रालयले आन्तरिक अध्ययनसमेत गरेका छन्।

१०० र १५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई भ्याट छुट दिँदा सरकारको राजस्वमा कति कमी आउँछ भन्ने विषयमा अध्ययन गरिएको हो।

सरकारले अन्तिम निर्णय गरेमा हाल ५० युनिटभन्दा बढी विद्युत् खपतमा लाग्दै आएको ५ प्रतिशत भ्याट १५० युनिटसम्मको खपतमा लाग्ने छैन। यसबाट कम विद्युत् खपत गर्ने घरायसी उपभोक्तालाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।

यद्यपि, भ्याट छुटको सीमा १५० युनिट पुर्‍याउने विषयमा सरकारले औपचारिक निर्णय भने गरिसकेको छैन।