ग्यासको अभाव छैन : निगमले भन्यो– नपाए हटलाइनमा फोन गर्नुस्

काठमाडौं: नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको कुनै अभाव नरहेको जनाएको छ। निगमका अनुसार मागअनुसार नियमित आपूर्ति भइरहेको छ।

निगमले आकस्मिक रूपमा बढेको मागलाई ध्यानमा राख्दै यो महिनाको ग्यास आयातसमेत बढाएको जनाएको छ। मासिक औसत खपत ४७ हजार मेट्रिक टन रहेकोमा साउन १ देखि १८ गतेसम्म मात्रै ३१ हजार ८१६ मेट्रिक टन ग्यास आयात भइसकेको निगमले जनाएको छ।

काठमाडौं उपत्यकामा उच्च माग रहेका केही उद्योगलाई सहज रूपमा ग्यास उपलब्ध गराउन टेकुस्थित निगमको कार्यालयबाट समेत बिक्री भइरहेको छ।

निगमका अनुसार नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यास बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म टेकुबाट वितरण भइरहेको छ।
निगमले ग्यास विक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिन निर्देशन दिएको छ।

खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नसमेत विक्रेतालाई भनिएको छ।
त्यस्तै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई विशेष प्राथमिकतामा राखेर ग्यास वितरण गर्न निगमले निर्देशन दिएको छ।

ग्यास नपाएको वा अन्य कुनै समस्या तथा गुनासो भए कार्यालय समयभित्र निगमको हटलाइन ०१–५९७१९०२ मा सम्पर्क गर्न सकिने निगमले जनाएको छ।

काठमाडौं उपत्यकाबाहिरका उपभोक्ताले सम्बन्धित प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा डिपोमा सम्पर्क गरेर सेवा लिन सक्नेछन्।