सुरक्षा व्यवस्था मिलाउन ओडिसा पुग्यो नेपाल प्रहरीको टोली

काठमाडौंः  भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था गर्नका लागि नेपाल प्रहरीको टोली पुगेको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार बिहान नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी विद्यालय पुगेको जानकारी गराएकी हुन् ।

उक्त कलेजको होस्टेलमा बुटवलकी प्रकृति लम्साल शंकास्पद रुपमा मृत भेटिएकी थिइन् । सो घटनापछि विकसित परिस्थितिलाई सरकारले निरन्तर फलोअप गरिरहेको परराष्ट्रमन्त्री राणाले बताएकी छिन् ।

नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउन नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी आज विश्वविद्यालय पुगेको उनले जानकारी गराएकी छिन् ।

राणाले घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएको समेत बताएकी छिन् ।