काठमाण्डौः हमासले गाजा युद्ध सुरु भएदेखि इजरायलमा व्याप्त अग्निपरीक्षाको प्रतीक बनेका बिबास परिवारसहित चार जना इजरायली बन्धकको शव रहेको कफिन बिहीबार हस्तान्तरण गरेको छ ।
सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि हमासले पहिलो पटक शव हस्तान्तरण गरेको हो । यो हमास र इजरायली पक्षबीच जनवरी १५ मा सहमति गरिएको र जनवरी १९ मा कार्यान्वयनमा आएको युद्धविराम सम्झौताअन्तर्गत भइरहेको छ । बदलामा इजरायली जेलमा रहेका जीवित प्यालेस्टिनी बन्दीको आदानप्रदान हुनेछ ।
दुई छोराहरू केफिर र एरियलसहित शिरी बिबास तथा ओडेद लिफशिट्जको शव फिर्ता गर्ने समारोह दक्षिणी गाजा शहर खान युनिसबाट भएको हो ।
हस्तान्तरण गर्नुअघि हमासले बलौटे जमिनमा बनाइएको मञ्चमा चारवटा कालो कफिन प्रदर्शन गरेको थियो ।
प्रत्येक ‘कास्केट’मा मृतकको सानो फोटो राखिएको र कफिनको छेउमा राखिएका सेतो नक्कली क्षेप्यास्त्रमा अमेरिकी बमले मारिएका लेखिएको छ ।
इजरायली सेनाले ‘बन्धकहरूको शव’ आफू र गाजास्थित शिन बेट आन्तरिक सुरक्षा एजेन्सीलाई हस्तान्तरण गरिएको बताएको छ ।
बिबास परिवारले पुष्टिका लागि पर्खने बताएको छ ।
तेल अभिवस्थित नेशनल फरेन्सिक मेडिसिन इन्स्टिच्युटले पहिचान प्रक्रियालाई तीव्रता दिन १० जना चिकित्सक परिचालन गरेको छ ।
इजरायल र हमासले यसै हप्ता र अर्को हप्ता दुई समूहमा बन्धक बनाइएका आठ जना बन्धकको अवशेष फिर्ता गर्ने र अन्तिम छ जना जीवित इजरायली बन्दीलाई शनिबार रिहा गर्ने सम्झौताको घोषणा गरेका थिए ।
बन्धकहरूको मञ्चले ती छ जनाको नाम एलिया कोहेन, ताल शोहम, ओमेर शेम टोभ, ओमेर वेनकर्ट, हिशाम अल–सैयद र एवेरा मेन्गिस्टु रहेको बताएको छ ।
गाजामा दुवै पक्षबाट उल्लङ्घनको आरोप लागे पनि युद्धविराम जारी रहेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भग्नावशेषले भरिएको गाजालाई नियन्त्रणमा लिने र २० लाखभन्दा बढी प्यालेस्टिनीको जनसङ्ख्या स्थानान्तरण गर्ने व्यापक निन्दा गरिएको योजनाका कारण पनि यो क्षेत्र तनावमा परेको छ।














