काठमाडौंः बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डव र युनिसेफका निमित्त नेपाल प्रतिनिधि बुधि सेटियावनले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई औषधि हस्तान्तरण गरिएको हो ।
नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’ अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधि केही दिनअघि प्राप्त गरेको थियो। पहिलो चरणमा एक वर्षका लागि तीन प्रकारका औषधि प्राप्त भएका थिए। डब्लुएचओ र ‘सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’को संयुक्त सहकार्यमा २०८० चैत १४ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र डब्लुएचओबीच बाल क्यान्सर उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने सम्भौता भएको थियो।
औषधि हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवद्र्धनको काम गरिरहेको बताए । ’कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट वञ्चित हुन नपरोस् भनेर निःशुल्क उपचार व्यवस्था पनि गरेको उनले जनाएका छन् ।
मन्त्रालयका अनुसार दाताबाट प्राप्त भएका औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचारका लागि आएका बालबालिकामा प्रयोग हुनेछ ।
सम्झौताअनुसार आगामी पाँच वर्ष (सन् २०२५ देखि २०३० सम्म) का लागि ती संस्थाले ले ३५ प्रकारका अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराउनेछ ।


















