काठमाडौं: गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन् ।
बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना तथा द स्टोरी किचेनको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।
उनले आफू मन्त्री बनेको १० महिना भएको र १० महिनाको समय धेरै नरहेको बताए । उनले विगतमा १० महिनामा सरकार परिवर्तन हुने स्थिति रहँदा एउटा सरकारको कार्यकाल जस्तै लाग्ने गरे पनि अहिलेको सरकार परिवर्तन नहुने दाबी गरे । उनले अहिलेको सरकार १० महिनामै नफेरिने र यस्ता १० महिना तीन-चार वटा अरू पनि कट्ने पनि धारणा व्यक्त गरे ।
गृहमन्त्री लेखक भने- ‘‘म मन्त्री बनेको १० महिना भइसक्यो । फेरि १० महिना धेरै पनि होइन । धेरै यसकारण होइन की पहिला पहिला १०-१० महिनामा सरकार फेरिन्थ्यो , त्यसो भएको हुनाले पूरै एक सरकारको कार्यकाल जस्तो लाग्थ्यो । यसपालि दस महिनामा फेरिँदैन । यस्ता १० महिना हामी तीन, चार वटा अरू बेहोर्छाैँ । त्यसो भएको हुनोले १० महिना धेरै भएन ।’’
गृहमन्त्री लेखकले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा कानुनलाई पूर्णता दिएको बताए । साथै उनले नौ महिना यताको समयमा आफूहरूले कानुनलाई पूर्णता दिएको पनि बताए।



















