मखन टोलमा लागेको आगो नियन्त्रणमा आयो

काठमाडौं: काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा लागेको आगो नियन्त्रणमा आएको छ ।

दमकल, नेपाली सेना, अन्य सुरक्षाकर्मी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको हो ।

आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो ।

आगलागीमा परी एकजना महिलाको मृत्यु भएको छ । उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरीले जनाएको छ ।

सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी सुरू भएको थियो । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो ।