काठमान्डौ बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालीन नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेको अनमिनका नेपाल प्रमुख इयान मार्टिनसँग लन्डनमा भेटघाट गरेका छन् । भेटघाटका क्रममा मार्टिनले अहिले पनि नेपालको शान्ति प्रक्रिया नटुङ्गिएकाले जतिसक्दो छिटो यसलाई टुङ्ग्याउन सुझाव दिएका छन् । कोइरालासँगको भेटमा उनले यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने बताए । तत्कालीन समयमा विद्रोहमा रहेको दलसमेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकाले संक्रमणकालीन न्यायलाई टुङ्ग्याउनुपर्ने उनको जोड थियो ।


















