सिमेन्टमा ७५ प्रतिशत मूल्य वृद्धि भएको कुरामा सत्यता छैनः उद्योगमन्त्री भण्डारी

उद्योगमन्त्री भण्डारीको आरोप

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्टमा ५० देखि ७५ प्रतिशतसम्म मूल्य नभएको बताएका छन ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन । उनले चार सयको सिमेन्ट आठ सय रुपैयाँ भन्ने विषयमा सत्यता नभएको दाबी गरे । उनले पछिल्लो समय उद्योगको मूल्य लागतअनुसार फरकफरक रहेको बताए ।

उनले ओपीसीको ६५० र पीपीसी ७५० रुपैयाँसम्म मूल्य रहेको बताए । उनले बाहिर भनिए जस्तो सिमेन्टमा ५०–७५ प्रतिशत मूल्य वृद्धि नभएको बताए । उनले सिमेन्टको मूल्य वृद्धिको विषयमा सरोकारवालाहरुसँग ४– ५ पटक छलफल भएको र अन्तिम पटक माघ ६ गते सहमति भएको बताए । ढुवानीमा पनि मूल्य नबढेको तर लोडसेडिङले उत्पादनमा कमी भएको बताए । उनले निर्माण व्यवसायी र उद्योगी दुवैलाई सँगै राखेर र छुट्टाछुट्टै पनि बसेर छलफल गरेको जानकारी दिए ।

उनले उत्पादनमा अभाव र बजारमा अभावको विषयमा उद्योगी र निर्माण व्यवसायीसँगै राखेर टुंग्याउने प्रतिवद्धता जनाए । उनले सरकारी हेटौँडा र उदयपुर सिमेन्ट उद्योग घाटा खाएर विक्री भइरहेको समेत बताए ।
मन्त्री भण्डारीले संसदीय समितिको निर्देशनका आधारमा चाँडै सिमेन्ट मूल्य वृद्धिका विषयमा टुङ्गो लगाउने उल्लेख गरे ।