वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन ऐन संशोधनको तयारी शुरु भइसकेको बताएका छन ।
प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री ठकुरीले ऐन संशोधनको लागि कार्यदल गठन गरिएको बताएका हुन । उनले विद्यमान कानूनमा देखिएका जटिलता र वाधाहरु फुकाउने गरी ऐन संशोधन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरिएको बताए ।
उनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र वातावरण संरक्षण ऐन समेत संशोधनको तयारीमा रहेको बताए । उनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र वातावरण संरक्षण ऐन संशोधन गर्नको लागि समेत मन्त्रालयले गठन गरेका कार्यदलहरुले काम गरिरहेको बताए ।
उनले ऐन संशोधनका क्रममा सरोकारवाला सबैसँग छलफल गरेर हाल रहेका समस्या समाधान हुनेगरी ऐन संशोधन गरिने प्रतिवद्धता व्यक्त गरे । उनले सिंहदरबारलाई प्लास्टिकमुक्त बनाइसेको समेत दाबी गरेका छन ।



















