मुक्तिनाथ क्षेत्रमा लेक लाग्ने घटनामा वृद्धि, १३ पर्यटकले गुमाए ज्यान

काठमाडौं: मुस्ताङमा चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म लेक (हाइअल्टिच्युड सिकनेस) का कारण नौ विदेशीसहित १३ पर्यटकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमध्ये चार नेपाली र नौ विदेशी नागरिक रहेका छन्।

प्रहरीका अनुसार मुक्तिनाथ दर्शनका लागि आएका ती पर्यटक वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिका क्षेत्रमा लेक लागेपछि उपचारका क्रममा प्रदेश अस्पताल जोमसोममा निधन भएको हो।

उच्च हिमाली क्षेत्रमा अक्सिजनको मात्रा कम हुने भएकाले पर्याप्त स्वास्थ्य सावधानी नअपनाउँदा लेक लाग्ने समस्या बढिरहेको छ। प्रहरीको तथ्यांक अनुसार मुस्ताङमा विशेषगरी भारतीय पर्यटकहरू यस समस्याबाट बढी प्रभावित हुने गरेका छन्।
लेक लाग्ने जोखिम न्यूनीकरणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), मुक्तिनाथ विकास समिति, स्थानीय तह तथा सुरक्षा निकायले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

पर्यटकीय मार्गमा सूचना बोर्ड राख्ने, ब्रोसर वितरण गर्ने तथा होटलहरूमा पोर्टेबल अक्सिजन सिलिन्डर र आवश्यक औषधिको व्यवस्था गर्ने काम भइरहेको सम्बन्धित निकायले बताएका छन्।

स्वास्थ्यकर्मीहरूका अनुसार समथर भूभागबाट सिधै उच्च हिमाली क्षेत्रमा पुग्ने, पर्याप्त विश्राम नगर्ने तथा आवश्यक स्वास्थ्य जानकारीबिना यात्रा गर्ने प्रवृत्तिका कारण लेक लाग्ने जोखिम बढ्ने गरेको छ। विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति र शारीरिक रूपमा कमजोर पर्यटक बढी जोखिममा पर्ने गरेका छन्।