काठमाडौं: संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि छलफल जारी रहनेछ।
आजको कार्यसूचीअनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका निकायहरूको बजेटमाथि सांसदहरूले धारणा राख्नेछन्।
बैठकमा केही सांसदहरूले सम्बन्धित मन्त्रालयहरूको खर्च रकम घटाउन खर्च कटौती प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। विभिन्न सांसदहरूले मन्त्रालयहरूको बजेट रकम घटाएर प्रतीकात्मक रूपमा एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव दर्ता गरेका छन्।
त्यसैगरी, पूर्वाधार विकास मन्त्रालय र अर्थ मन्त्रालयको बजेट रकममा कटौती गर्नुपर्ने प्रस्ताव पनि संसद्मा पेश गरिनेछ।
बैठकको अन्त्यमा प्रतिनिधिसभाका पूर्व सदस्य मंगल प्रसाद गुप्ताको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।




















