काठमाडौं: सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीबाट प्रहरीले ब्राउन सुगरसहित सासू–बुहारीलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पकलीको टोलीले ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूको घरमा छापा मारिएको थियो। छापाका क्रममा सरातुन खातुनको साथमा रहेको कपडाको झोलाभित्र लुकाएर राखिएको २१.५० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।


















