काठमाडौँ: काठमाडौँ उपत्यकामा पछिल्लो समय फैलिएको बर्डफ्लु संक्रमणको प्रमुख कारक काग रहेको पशु सेवा विभागले जनाएको छ।
विभागका अनुसार संक्रमित कागहरू एक स्थानबाट अर्को स्थानमा आवतजावत गर्ने भएकाले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको छ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार कागमा देखिएको बर्डफ्लु संक्रमणका कारण उपत्यकाका विभिन्न क्षेत्रमा रोग फैलिएको छ। उनले कुखुरामा देखिएको संक्रमण नियन्त्रण गर्न सकिए पनि जङ्गली चराचुरुङ्गी, विशेषगरी कागमार्फत फैलिने संक्रमण नियन्त्रण गर्न कठिन हुने बताए।
“संक्रमित काग एक ठाउँबाट अर्को ठाउँमा उडेर रोग सारिरहेका छन्। कागमा संक्रमण करिब २१ दिनसम्म रहने भएकाले संक्रमण फैलिने जोखिम उच्च छ,” दाहालले भने।
उनका अनुसार जावलाखेलस्थित सदर चिडियाखानासहित विभिन्न स्थानमा कागमार्फत संक्रमण फैलिएको देखिएको छ।
संक्रमित काग मरेपछि कहाँ खस्छ भन्ने जानकारी नहुने र तिनको दिसाबाट समेत संक्रमण फैलिन सक्ने भएकाले थप सतर्कता आवश्यक रहेको विभागको भनाइ छ।
हाल काठमाडौँ उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु संक्रमण पुष्टि भएको छ। विभागका अनुसार देशभरका ११ जिल्लाका करिब १०० स्थानमा बर्डफ्लु देखिएको छ।
महानिर्देशक दाहालले कीर्तिपुर र कागेश्वरी मनोहरा नगरपालिका बाहेक उपत्यकाका अधिकांश प्रभावित क्षेत्रमा संक्रमण नियन्त्रणको अवस्था सुधार हुँदै गएको जानकारी दिए। उनले कागमा संक्रमण देखिएकाले सर्वसाधारण तथा पन्छीपालक किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। संक्रमण नियन्त्रणका लागि विभागले उपमहानिर्देशकको नेतृत्वमा विशेष नियन्त्रण कक्ष स्थापना गरी संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर नियन्त्रण अभियान सञ्चालन गरिरहेको जनाएको छ।


















