चुच्चे नक्सासहितको नयाँ एक रुपैयाँको सिक्का, उत्पादन लागत घटाउन तौल र धातु परिवर्तन

काठमाडौं: सरकारले चुच्चे नक्सा र आकाश भैरवको चित्र अंकित नयाँ एक रुपैयाँको सिक्का ल्याउने तयारी गरेको छ।

नयाँ सिक्कामा राष्ट्रिय पहिचान झल्काउने डिजाइनलाई निरन्तरता दिँदै उत्पादन लागत घटाउन तौल, आकार र प्रयोग हुने धातुमा समेत परिवर्तन गरिने भएको हो।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार नयाँ सिक्काको डिजाइनमा नेपालको नक्सा अनिवार्य रूपमा समावेश हुनेछ। सिक्काबाट चुच्चे नक्सा हटाइने भन्ने चर्चा सत्य नभएको स्पष्ट पार्दै उनले नक्साबिनाको डिजाइन बन्न नसक्ने बताए।

हाल प्रचलनमा रहेको एक रुपैयाँको सिक्का बनाउन यसको अंकित मूल्यभन्दा बढी खर्च लाग्ने भएकाले लागत घटाउन यसको तौल र आकार परिमार्जन गर्न लागिएको हो। यसअघि पनि तौल घटाउने प्रयास भए पनि अहिले त्यसलाई कार्यान्वयनमा ल्याइने तयारी गरिएको उनले जानकारी दिए।

पौडेलका अनुसार हाल प्रयोग भइरहेको मिश्रित धातुको सट्टा स्टिल प्रयोग गर्ने योजना छ। यसले सिक्का उत्पादनको लागत कम गर्नुका साथै वातावरणीय दृष्टिले पनि बढी उपयुक्त हुने अपेक्षा गरिएको छ।

नयाँ सिक्कामा परम्पराअनुसार ६४ वटा थोप्ला रहनेछन्, जसलाई ६४ योगिनीको प्रतीक मानिन्छ। सिक्कामा प्रयोग हुने चित्र, प्रतीक र आकृतिले सांस्कृतिक तथा ऐतिहासिक महत्व बोक्ने भएकाले यस्ता विषयको छनोट विशेष महत्वका साथ गरिने राष्ट्र बैंकको भनाइ छ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार नोट वा सिक्काको डिजाइन स्वीकृत गर्न वा परिवर्तन गर्न मन्त्रिपरिषद्को स्वीकृति आवश्यक पर्ने व्यवस्था छ।

सरकारले समय–समयमा आवश्यकता र राष्ट्रिय प्राथमिकताअनुसार सिक्काको डिजाइन तथा प्राविधिक विशेषतामा परिमार्जन गर्दै आएको छ।