काठमाडौं: सरकारले सुनसरीमा भएको हिंसात्मक घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।
गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्।
समितिको सदस्य सचिवका रूपमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी रहनेछन्। समितिले घटनाको कारण, सुरक्षा व्यवस्थाको अवस्था तथा घटनाक्रमको समग्र अध्ययन गर्नेछ।
यस्तै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने सुरक्षा, प्रशासनिक तथा नीतिगत उपायबारे सरकारलाई आवश्यक सुझावसमेत समितिले दिने कार्यादेश पाएको गृह मन्त्रालयले जनाएको छ।


















