भारतबाटै बढेर आयो पेट्रोलियमको मूल्य, नेपालमा पनि बढ्ने तयारी

काठमाडौं: भारतबाट पेट्रोलियम पदार्थको मूल्य दोहोरो अंकले बढेर आएपछि नेपालमा पनि पेट्रोल, डिजेललगायतका पेट्रोलियम पदार्थको मूल्य बढ्ने भएको छ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा बढेको नेपाल आयल निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि आईओसीबाट प्राप्त मूल्यमा पनि वृद्धि भएको निगम स्रोतले जनाएको हो।

निगमले सामान्यतया प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची सार्वजनिक गर्दै आएको छ। तर, यसपटक आईओसीबाट मूल्य बढेर आएपछि नयाँ मूल्य निर्धारण गर्न सञ्चालक समितिको निर्णय आवश्यक परेको छ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार नयाँ मूल्यमा ठूलो परिवर्तन भएकाले सञ्चालक समितिको बैठक बसेर निर्णय गरेपछि मात्रै नयाँ मूल्य सार्वजनिक गरिनेछ।

स्वचालित मूल्य प्रणालीअनुसार २ रुपैयाँसम्म मूल्य घटबढ गर्ने अधिकार निगम व्यवस्थापनलाई भए पनि सोभन्दा बढी मूल्य समायोजन गर्न सञ्चालक समितिको निर्णय आवश्यक हुन्छ।

शनिबार र आइतबार बिदा परेकाले बैठक बस्न ढिलाइ भएको निगमले जनाएको छ।

अब सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल तथा अन्य पेट्रोलियम पदार्थको मूल्य कति बढाउने र कहिलेदेखि लागू गर्ने भन्ने निर्णय गर्नेछ।