काठमाडौं: सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्ज घटनामा घाइते भएर उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहताको परिवारसँग गृहमन्त्री सुधन गुरुङले मंगलबार त्रिवि शिक्षण अस्पतालमा भेटवार्ता गरेका छन् ।
परिवारले शव बुझ्न नमानेपछि गृहमन्त्री गुरुङ अस्पतालमै पुगेर मृतकका आफन्तसँग छलफल गरेका हुन् ।
गृह मन्त्रालयका अनुसार मंगलबारको छलफल सकारात्मक भएको छ । मृतकका बुवा–आमा काठमाडौं आएपछि बुधबार पुनः दोस्रो चरणमा वार्ता गर्ने सहमति भएको छ ।
परिवार पोस्टमार्टमका लागि शव बुझ्न तयार भएको छ । तर मृतकका बुवा–आमा आएपछि पीडित परिवारका मागबारे थप छलफल गरेर सहमति जुटाउने तयारी छ ।
गृह मन्त्रालय स्रोतका अनुसार बुधबार हुने वार्तापछि परिवारका माग सम्बोधन गर्ने विषयमा टुंगो लाग्नेछ । त्यसपछि मात्रै शव बुझाउने र दाहसंस्कार गर्ने प्रक्रिया अघि बढ्नेछ ।
रवीन्द्रको शव हाल त्रिवि शिक्षण अस्पतालमै राखिएको छ ।
यसअघि मंगलबार गृहमन्त्री गुरुङले हिन्दु र मुस्लिम समुदायका नेताहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
गृह मन्त्रालयमा भएको भेटमा पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको अवस्था, विवाद, शान्ति–सुरक्षा तथा आपसी सद्भावका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।




















